देश

असली जेन–जी’को नाममा पुनः अवसरवादको राजनीतितर्फ प्रचण्ड : पुरानो शैली, नयाँ आवरण

काठमाडौं । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पनि राजनीतिक अवसरवादको बाटोमा हिँडिरहेका छन् भन्ने आरोप पुनः उठ्न थालेको छ। बुधबार धादिङको थाक्रे गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा उनले ‘असली जेन–जीलाई नेतृत्वमा अघि बढाउने’ भन्दै युवापुस्ताको समर्थन तान्ने प्रयास गरे, तर विश्लेषकहरू यो अभिव्यक्तिलाई पुरानै शैलीमा नयाँ आवरणको अवसरवादी राजनीतिक खेलको रूपमा व्याख्या गरिरहेका छन्।

प्रचण्डले कार्यक्रममा भने, “हाम्रो पार्टी नै जेन–जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो शक्ति हो।” तर प्रचण्ड जेन–जी आन्दोलनको प्रारम्भिक चरणमा आन्दोलनकारीहरूलाई आन्दोलन गर्न भिडलाई उत्तेजित पारिरहेका थिए । अहिले जब जनमत पुराना दलहरूबाट विमुख हुँदै गएको छ, उनले फेरि त्यही आन्दोलनलाई “आफ्नो एजेन्डा” भन्दै अपनाउने कोसिस गरेका छन्।

राजनीतिक विश्लेषकहरुका अनुसार “प्रचण्डको यो भनाइ कुनै सिद्धान्तिक प्रतिबद्धता होइन, जनआन्दोलनको लहरमा सत्ताको नयाँ ढोका खोज्ने प्रयास मात्र हो।” प्रचण्डको राजनीतिक इतिहासमा ‘आश्वासन र विश्वासघात’ दुवै गहिरो रूपमा जोडिएका छन्।
२०५२ मा जनयुद्ध सुरु गर्दा ‘जनताको शासन’ ल्याउने वाचा गरे। २०६२र६३ पछि सत्ता पुगेपछि त्यही व्यवस्था ‘संविधानमा सीमित’ बनाए। गणतन्त्रका नाममा पुनः सत्ताको सौदाबाजीमा केन्द्रित भए। त्यसैले अहिले उनले माओवादी केन्द्रलाई ‘जेन–जी आन्दोलनको असली प्रतिनिधि’ भनेर प्रस्तुत गर्दा धेरैलाई यो राजनीतिक पुनःब्रान्डिङको प्रयास मात्र लागेको छ।

विरोधाभासपूर्ण चरित्र : सडकमा समर्थन, सत्तामा दमन

प्रचण्डले बुधबारको कार्यक्रममा भने, “सरकारमा बसेर जेन–जीहरूलाई दमन गर्ने र सडकमा उनीहरूको पक्षमा बोल्ने पार्टी एउटै होइन।” तर, यथार्थ विपरीत छ। जेन–जी आन्दोलन चरममा हुँदा प्रचण्ड स्वयं सत्ता गठबन्धन विपरीत थिए। आन्दोलनकारीहरू पक्राउ परिरहँदा उनले मौनता साधे। अहिले जब सत्ता समीकरण फेरिँदैछ, उनी पुनः ‘जेन–जी समर्थक’को छविमा पुनर्जीवन खोज्दै छन्।

स्रोतका अनुसार माओवादी केन्द्रले हाल देशभर सदस्यता नवीकरण र नयाँ भर्ना अभियान सुरु गरेको छ। प्रचण्डले युवापुस्तालाई ‘नेतृत्वमा अघि ल्याउने’ आश्वासन दिँदै संगठन विस्तारको नाममा समर्थन सङ्कलनको रणनीति अपनाएका छन्। तर पार्टीभित्रकै नेताहरू भन्छन् — “पार्टीमा अवसर पाउने भनेका प्रचण्डका नातेदार र आस्थावान समूह मात्र हुन्। युवालाई नेतृत्वमा ल्याउने कुरा नारामात्र हो।”

विगतमा “जनआन्दोलन” र “संविधान रक्षा”का नाममा देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रमुख पात्र प्रचण्ड नै थिए। अहिले पनि उनले देश ‘संकटपूर्ण अवस्थामा छ’ भन्दै पुनः संघर्ष र ध्रुवीकरणको वातावरण बनाउने संकेत दिएका छन्।राजनीतिक पर्यवेक्षकहरू चेतावनी दिन्छन् —“प्रचण्ड फेरि पुरानै शैलीमा द्वन्द्वको राजनीति खेल्न खोजिरहेका छन्, जुन युवाहरूको आन्दोलनलाई बदनाम बनाउने खतरनाक रणनीति हो।”

‘प्रचण्ड’ पछिल्लो समय निर्वाचन र अन्य समयमा समेत नेकपा एमालेसँग एकता गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै नेकपा एमालेसँग हातेमालो गरेर अघि बढ्ने बताए । यस्तै प्रचण्डले विगत लामोसमयदेखि पार्टी एकताको फन्डा निकालेर आपतकालीन समयका लागि मोर्चाबन्दी गर्दै आएका थिए । तर ती मोर्चाबन्दी दलहरुसमेत प्रचण्डका नाटकीय अभिव्यक्ति र क्रियाकलापप्रति असन्तुष्ट बन्दै आएका छ । तिहार लगतै मोर्चासँग गहिरो छलफलमा जुट्ने आन्तरिक तयारीमा प्रचण्ड रहेका छन् ।

जेन–जी आन्दोलनले पुराना दलहरूका असफलता उजागर गर्‍यो — तर त्यसै आन्दोलनको नाममा अब प्रचण्डले पुनः आफ्नो राजनीतिक अस्तित्व बचाउने प्रयास गरिरहेका छन्। यो कदमले युवाहरूको आन्दोलनलाई सहारा होइन, राजनीतिक प्रयोगको सामग्रीमा रूपान्तरण गर्ने जोखिम बोकेको छ। प्रचण्डको भनाइहरू नयाँ जस्ता लागे पनि शैली पुरानै छ — पहिले जस्तो वाचा, फेरि जस्तो निराशा। जेन–जीको नाममा नेतृत्वको कुरा गर्दै उनले सत्ताको ढोका खोजेका छन्, तर देशले उनलाई अझै पनि द्वन्द्वको प्रतीक र अस्थिरताको स्रोतको रूपमा हेर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *