काठमाडौं। नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी आसन्न निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेस निर्वाचनमा जानबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।
उनका अनुसार काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नै आउँदैन । उनले सरकारले निष्पक्ष र सहज निर्वाचनका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेता घिमिरेले वर्तमान सरकार र संसद् विघटन असंवैधानिक रहेको दाबी पनि गरे । उनका अनुसार संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भइसकेका छन्, जसको फैसलालाई काँग्रेसले सम्मान गर्ने स्पष्ट धारणा उनले राखे ।
उनले भने, “अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदमबारे छलफल भयो । हाम्रो दलले आफ्ना धारणा राख्ने अवसर पायो । दशैँअघि नै पार्टीको कार्यसम्पादन समितिको बैठकले यो असंवैधानिक कदम भएको भनिसकेको छ । लोकतान्त्रिक पार्टी भएको नाताले हामी निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतको निर्णयको सम्मान गर्दै निर्वाचनमा सहभागी हुन्छौँ ।”
घिमिरेका अनुसार पार्टीको केन्द्रीय समितिको बैठक जारी छ र उक्त बैठकले आगामी कदमबारे थप निर्णय लिनेछ ।




