देश

सभामुख घिमिरेद्वारा प्रतिनिधि सभा पुनर्स्थापनाबारे दलका नेतासँग छलफल सुरु

काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।छलफल केही बेरअघि संसद् भवनस्थित सभामुखकै कार्यकक्षमा सुरु भएको छ।प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन्।

आफैँ रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा सभामुख घिमिरेले दलहरूसँग छलफल थालेका हुन्।

बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएका छन्।

गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन्।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका सबै दलका प्रतिनिधि सहभागी छन्।

नेपाली कांग्रेस र नेकपा (एमाले)लगायत दलका केन्द्रीय बैठक चलिरहेका बेला सभामुखसँगको यो छलफललाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *