काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछिको लामो मौनता तोड्दै मंगलबार पहिलो पटक सार्वजनिक भएका छन्। भदौ २४ गते आफ्नै बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा करिब तीन सातापछि पार्टी कार्यालयमा उपस्थित भएका हुन्।
पार्टी कार्यालय सानेपामा पुगेका देउवाले जेनजी आन्दोलनका क्रममा देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले भने, “सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयदेखि निजी घर र सम्पत्तिमाथि आक्रमण गर्ने जसले गरे पनि कारबाही हुनुपर्छ।”
देउवाले आफ्नो राजनीतिक जीवनमा समाज सुधार र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि निरन्तर काम गरेको स्मरण गराउँदै भने, “हिंसा र अराजकतालाई लोकतन्त्रको नाममा मान्यता दिन सकिँदैन।”
पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्। जेनजी आन्दोलनमा विभिन्न समूहहरूको घुसपैठ भएको दाबी गर्दै अन्तरिम सरकारले सत्य तथ्यसहित अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
देउवा घाइते भएपछि उपचार र विश्राममा रहेकाले लामो समय सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। उनको मंगलबारको उपस्थिति काँग्रेसभित्रका नेताहरूले “सक्रिय राजनीतिमा फर्कने संकेत”का रूपमा लिएका छन्।




