देश

केन्द्रीय समिति बैठकअघि गगन र विश्वको देउवासँग छलफल, मंसिर महिनामै महाधिवेशन गराउन ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग आगामी केन्द्रीय समिति बैठकअघि छलफल गरेका छन्।

बैठकको एजेन्डाबारे केन्द्रित छलफलमा दुवै महामन्त्रीले मंसिर महिनामै महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। तर, सभापति देउवाले उक्त प्रस्तावमा तत्काल कुनै स्पष्ट प्रतिक्रिया नदिई “सल्लाह गरेर निर्णय लिन्छु” भन्ने जवाफ दिएका स्रोतले जनाएको छ।

गगन र विश्वले पार्टीभित्र नयाँ नेतृत्व आवश्यक रहेको तर्क गर्दै, नियमित महाधिवेशन सम्भव नभए पनि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तनको बाटो खोल्नुपर्ने धारणा राखेका छन्। उनीहरूले यसका लागि आवश्यक हस्ताक्षर संकलन समेत पूरा गरिसकेका छन्।

तर, देउवा पक्ष भने मंसिरमा महाधिवेशन गर्ने सम्भावना न्यून रहेको बताउँदै समय तान्ने रणनीतिमा लागेको छ। सभापति र महामन्त्रीबीचको भेटमा पनि महाधिवेशनबारे कुनै ठोस सहमति बनेको छैन। यसैबीच, आजै बस्न लागेको काँग्रेस केन्द्रीय समिति बैठकका लागि नेताहरू सानेपा पार्टी कार्यालय पुगिसकेका छन्। बैठकमा संगठन विस्तार, महाधिवेशनको मिति र आन्तरिक राजनीतिक समीकरणका विषयमा चर्को बहस हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *