काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नागरिकको न्याय प्राप्त गर्ने अधिकार अक्षुण राखिने बताएका छन् ।
सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिवक्ता, उपत्यका बार एशोसिएसनका पदाधिकारीहरूबीचको छलफलमा उनले सर्वोच्च अदालतको सेवा शीघ्र सञ्चालन हुने जानकारी दिए ।
प्रधानन्यायाधीश राउतले भने, “न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिदैनौँ । सर्वोच्च अदालतको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै अदालत पूर्ण रूपमा सञ्चालन हुनेछ ।”
उनका अनुसार सूचना प्रविधि शाखाले दिनरात काम गरिरहेको छ र निकट भविष्यमै सर्वोच्च अदालतको पूर्ण बैठक बसेर थप धारणा सार्वजनिक गरिनेछ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं र उच्च अदालत तुलसीपुरमा आगजनी हुँदा ठूला क्षति पुगेका थिए । हाल सर्वोच्च अदालतसहित देशभरका अदालतहरूमा अतिआवश्यक सेवा सञ्चालन भइरहेको छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा. डा. विजय मिश्रले अदालतहरूलाई शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कानुनी मिसिल झिक्ने प्रक्रियामा बारले सहजीकरण गर्ने बताएका छन् ।
उनले भने, “अदालतहरू नियमित रूपमा सञ्चालन गर्नुपर्छ । नेपाल बार र कानुन व्यवसायीसँग रहेका मिसिल ल्याउन बारले सहजीकरण गर्नेछ । कतिपय पुराना मिसिल नचाहिने काम तत्काल सञ्चालन गर्न जरुरी छ ।”
यसअघि पनि नेपाल बारले अदालतहरू यथाशीघ्र सञ्चालन गर्न प्रेस विज्ञप्ति जारी गरेको थियो । सर्वोच्च अदालतको भवन पूर्ण रूपमा जलेको र धेरै मुद्दाका मिसिल नष्ट भएकाले हाल पालमुनिबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।



