देश

बालेनले सुदन गुरुङलाई ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेका छन् : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले ‘एम्बुस’ बनाएर पड्काउन खोजिरहेको आरोप लगाएका छन् । नेता बस्नेतले आज एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

‘सुदन गुरुङजस्ता मानिसहरूलाई एम्बुस बनाएर यहाँ पड्काउन खोजिँदैछ,’ बस्नेतले भने, ‘सुदन गुरुङजस्ता मान्छेहरू बालेनजीहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन् । अनि डेलिकेसन जान्छन प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’

उनले मेयर बालेनले गुरुङलाई अगाडि सारेर अदृश्य रुपमा गतिविधि गरेको आरोप लगाए ।

सुधन जस्ताे विदेशीलाई एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको उनको दाबी छ । उनले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरे ।

उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरे ।

उनले फूलपातीको दिनदेखि आजसम्म आफूलाई पक्राउ गर्ने प्रयास भइरहेको बताए । उनले थपे, ‘हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्रहरू खडा गरेर, गिरफ्तार गर्ने प्रयास भयो, अदालतले सरकारको त्यो षड्यन्त्रलाई स्वीकार गरेन । हिजो मेराविरुद्ध पक्राउ पुर्जी जारी गर्न दलबलसहित गएको प्रहरीलाई अदालतले फिर्ता गरिदियो ।’

उनले आफ्नो आवाज थुन्नको लागि षड्यन्त्र गरिएको बताए । ५ महिना अगाडि प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दा अहिले दबाबमा खोलिएको भन्दै आजै मात्रै पनि आफू बयान दिएर आएको बताए ।

बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो ।

उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *