राजनीति

कार्यकर्ताहरूलाई कांग्रेसको अपील : जोखिमका बेला स्वयंसेवकका रूपमा सक्रिय हुनू

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका कार्यकर्ताहरूलाई जोखिमको बेला स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान गरेको छ ।

शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठूलो जोखिम निम्त्याउने भन्दै कांग्रेसले समयमै तयारी र प्रतिकार्यमा जुट्न सबैलाई आग्रह गरेको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भदौ २३ र २४ को घटनाले देशलाई मर्माहत बनाएको स्मरण गराउँदै, पुनः ठूलो विपद् दोहोरिन सक्ने भन्दै सबै कार्यकर्तालाई आ-आफ्नो क्षेत्रमा स्वयंसेवकको रूपमा खट्न आग्रह गरिएको हो ।

साथै, भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै नेपाली कांग्रेसले सरकार, राजनीतिक दलहरू र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपीलसमेत गरेको छ।कांग्रेसद्वारा जारी विज्ञप्तिमा सात बुँदे सतर्कता उपायसहित विपद् व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ । तीमध्ये समयमै सूचना प्रवाह, जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, पहाडी सडक अस्थायी रूपमा बन्द गर्ने, स्थानीय तह र स्वयंसेवीलाई परिचालन गर्ने, आवश्यक साधन–स्रोत तयारी अवस्थामा राख्ने लगायतका उपायहरू समावेश छन् ।

‘सरकारले युद्ध स्तरमा सजगता र तयारी राखोस्, सम्भावित विपद् सामना गर्न जिम्मेवार ढङ्गले सबै जुटौँ,’ विज्ञप्तिमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *