देश

म रहरले सत्ताको रसास्वादन गर्न आएको होइन : प्रधानमन्त्री कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले होइन, परिस्थितिको बाध्यताका कारण प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारेकी छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि कर्मचारी, सुरक्षाकर्मी लगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो । म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन ।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सहज बनाउने र नयाँ पुस्ताको भावना अनुसार शासन प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

जनजीविका आन्दोलनका क्रममा २७ घण्टासम्म चलेको हिंसात्मक आन्दोलनले मुलुकलाई ठूलो जनधनको क्षति पुगेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुरक्षा निकाय, प्रहरी बिट, अदालत, सिंहदरबारसमेत आगोले जलेर नष्ट भयो । जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो । भौतिक संरचना बनाउने सम्भव हुन्छ, तर रेकर्ड गुम्दा हामी शून्यमा पुगेका छौं ।’

उनले हिंसा र आगजनी अत्यावश्यक संस्थाहरूमा लक्षित रूपमा गरिएको आरोप लगाउँदै भनिन्, ‘सुरक्षा वाहनसमेत खरिद नगरी नहुने अवस्थामा छौं । देखिएको दृश्यले लाज लाग्दो अवस्था बनाएको छ । नेपाली नै भएर यस्तो काम गरिएको हो भने त्यसलाई कसरी नेपाली भन्ने ?’

प्रधानमन्त्री कार्कीले आन्दोलनमा षड्यन्त्र भएको आशंका गर्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिइन् ।

‘यो घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन्छ । प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन’, उनले भनिन्, ‘सबैको छानबिन हुन्छ ।’

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल ६ महिनासम्म सीमित रहने स्पष्ट पार्दै त्यसपछि निर्वाचित जनप्रतिनिधिलाई सत्ताको बागडोर सुम्पिने बताइन् ।

‘नयाँ आउने सांसद र मन्त्रीलाई सुम्पने अठोट गरेका छौं । तर तपाईंहरू सबैको साथ नभई सम्भव छैन’, उनले भनिन्, ‘जति क्षति भएको छ, आफ्नै तर्फबाट पहल गरेर त्यो किन नगर्ने ? तराईमा बाँसका भाटा जोडेर कामचलाऊ व्यवस्था किन नगर्ने ? नेपालीहरूसँग त्यो क्षमता छ ।’

उनले अपराधीहरूले मुलुकमाथि पारेको चुनौतीलाई एकतामा रहेर सामना गर्न सबैलाई आह्वान गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *