देश

बृहत नागरिक आन्दोलनको चेतावनी : संविधान बाहिर नजाने, बालेनलाई आफ्नो पक्ष स्पष्ट पार्न आग्रह

काठमाडौं । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनपछि देखा परेका गतिविधिहरूलाई संवैधानिक मार्गमै अघि बढाउन आग्रह गरेको छ। आन्दोलनले २०७२ सालको संविधानलाई प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला भन्दै त्यसकै आधारमा नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।

आन्दोलनले जारी विज्ञप्तिमा काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति पनि प्रश्न उठाउँदै भनेको छ– “यदि उहाँ संविधानभन्दा बाहिरका गतिविधिमा संलग्न हुनु भएको छ भने तुरुन्त आफ्नो कित्ता स्पष्ट पार्नुपर्छ।” त्यस्तै, आन्दोलनले नेपाली सेनाको भूमिका अस्वीकार्य भएको उल्लेख गर्दै सेनाले प्रतिक्रान्तिकारीहरूसँगको सबै अन्तरक्रिया तत्काल बन्द गरी राष्ट्रपतिको अभिभावकत्वमा मात्रै छलफल र कार्यक्रम गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजीको बलिदानले न त गणतन्त्र उल्ट्याउने न त धर्मनिरपेक्षता खारेज गर्ने बाटो देखाएको हो। तर अहिले भइरहेको गतिविधि त्यसको उल्टो देखिन्छ। यो प्रतिक्रान्तिलाई परास्त गर्नु तत्कालको चुनौती हो।” आन्दोलनले सम्भावित नागरिक सरकारलाई पनि चेतावनी दिँदै भनिएको छ– “अब बन्ने सरकार संवैधानिक मार्गमै उभिनुपर्छ। भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान सरकारभित्र हुन दिइने छैन।”

यसरी, बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनलाई संवैधानिक बाटोमा राख्दै राष्ट्रपतिको भूमिकामा आधारित राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *