काठमाडौं। सुरक्षा परिस्थितिको विश्लेषणपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी कर्फ्यू तथा निषेधाज्ञा अझै निरन्तरता दिने निर्णय गरिएको छ। रक्षा मन्त्रालय, नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले बुधबार जानकारी दिएको हो।
नयाँ व्यवस्था अनुसार भाद्र २६ गते विहान १० बजे देखि बेलुकी ५ बजे सम्म र भाद्र २६ गते बेलुकी ७ बजे देखि भाद्र २७ गते विहान ६ बजे सम्म कर्फ्यू जारी रहनेछ। यस क्रममा आवश्यक कार्यका लागि सीमित आवतजावत अनुमति दिइनेछ।
सेनाले जनाएको छ कि कर्फ्यूका दौरान एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी, औषधी ओसारपसार गर्ने सवारी साधन संचालन गर्न सकिनेछ।
त्यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सार्वजनिक निकायका कर्मचारीहरूले परिचय पत्र देखाएर कार्यालयमा जान सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न पाउनेछन्।
काठमाडौं उपत्यकाबाहिरको क्षेत्रमा भने सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुसार जिल्ला सुरक्षा समितिहरूले निर्णय लिनेछन्।
सैनिक स्रोतले आम नागरिकहरूलाई सुरक्षा र मानविय उद्धार सुनिश्चित गर्न सक्रिय सुरक्षाकर्मीलाई सहयोग गर्न हार्दिक अपिल गरेको छ।






