काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय पारिएको विषयमा सरकारसँग औपचारिक छलफल गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै छलफल आवश्यक भएको निष्कर्ष निकालेका हुन्।
कांग्रेस सहमहामन्त्री डिना उपाध्यायका अनुसार बैठकमा अधिकांश नेताहरूले सामाजिक सञ्जाललाई नियमन गर्नु उपयुक्त भए पनि पूर्णरूपमा निष्क्रिय पार्ने निर्णय अस्वीकार्य भएको बताएका थिए।
बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको उपाध्यायले जानकारी दिइन्।
त्यस्तै, कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल बन्द हुँदा आमनागरिकमा असन्तुष्टि बढेको भन्दै यसबारे सरकारसँग गम्भीर छलफल गरिने बताए। सरकारका गलत निर्णय र कार्यप्रति कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनले स्पष्ट पारे।
केसीले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा छलफल नगरी पारित गर्न खोज्नु पनि लोकतान्त्रिक प्रक्रिया विपरित भएको बताए।




