राजनीति

प्रधानमन्त्री ओली चीन भ्रमणबाट स्वदेश फर्किए, बहुपक्षीय भेटवार्ताले उत्साहित

काठमाडौं  । आफ्नो औपचारिक चीन भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणा अनुसार शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै उनको सचिवालयले भ्रमण सफल भएको जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग बेइजिङमा भेटवार्ता गरेका थिए। सम्मेलनमा उनले बहुपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगमा जोड दिएका थिए।

एससिओ सन् २००१ मा स्थापना भएको र विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो। यसमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार (डायलग पार्टनर) हुन्।

शिखर सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब २५ मिनेटको भेटवार्ता गरेका थिए। बैठकमा दुवै नेताले आगामी भ्रमणको निम्तो दिएका थिए।

त्यसैगरी, प्रधानमन्त्री ओलीले माल्दिभ्सका राष्ट्रपति, कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि अलग-अलग भेटवार्ता गरेका थिए।

ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत सहभागी थिए।

यस भ्रमणले नेपालको बहुपक्षीय कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहभागिता बलियो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *