काठमाडौं । रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का आकांक्षी नेताहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन्।
लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। भैरहवाबाट केही समयअघि मात्रै उनलाई नख्खु कारागार सारिएको हो। उम्मेदवार घोषणा गर्नु अघि आकांक्षीहरूले सभापतिसँग भेट गरी सुझाव लिएको बताइन्छ।
रास्वापाले आजै सचिवालय बैठकपछि उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। रुपन्देही–३ बाट उम्मेदवार बन्न नौ जनाले आवेदन दिएका थिए, जसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन्।
तीमध्ये कुसुम, मधु, सुलभ र जीतबहादुर बाहेकका पाँच जना भैरहवाका हुन्।
रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।




