काठमाडौं। विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष तोकेको हो।
यसैगरी, विशेष अदालतमा नयाँ सदस्यका रूपमा उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्जकै इजलासका न्यायाधीश उमेश कोइरालालाई नियुक्त गरिएको छ।
कानुनअनुसार विशेष अदालतका अध्यक्ष तथा सदस्यहरू सरकारद्वारा न्याय परिषद्को परामर्शमा तोकिन्छन्। हालसम्मको नेतृत्व दुई वर्ष पुरानो भएकाले यसपटक नयाँ संरचना बनेको हो।
यसअघि विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ।




