राजनीति

माओवादीभित्रको असन्तुष्टि पदाधिकारी बैठकमै छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र उत्पन्न अन्तरसंघर्ष समाधानका लागि पार्टीले पदाधिकारी बैठक बोलाउने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) का कुरा सो बैठकमा औपचारिकरूपमा उठाइने बताइएको छ ।

शर्माका स्वकीय सचिव तिलक परियारका अनुसार केन्द्रीय कमिटी बैठक, महाधिवेशन र पार्टीको विधि–विधानसम्बन्धी असन्तुष्टि छलफलमा राख्ने तयारी भएको छ । “अब बस्ने पदाधिकारी बैठकमै सबै विषयबारे खुलेर कुरा गर्ने तयारी छ,” उनले बताए ।

उनले प्रचण्ड र शर्माबीच ठूलो विवाद नभएको दाबी पनि गरे । “यो वैचारिक मतभेद हो, बाहिर देखिएजस्तो घमासान छैन,” परियारले भने । यसअघि भदौ १२ गते हुने भनिएको बैठक तयारी नपुगेको कारण स्थगित भएको थियो । माओवादीले मंसिरमा महाधिवेशन गर्ने तयारी गरे पनि हालसम्म आवश्यक चाँजोपाँजो पूरा हुन सकेको छैन ।

यस्तै, माओवादी केन्द्रले भदौ १५ गते सुरु गर्ने भनिएको मध्य पहाडी लोकमार्ग जागरण अभियान भदौ २१ गतेबाट मात्र गर्ने निर्णय गरेको छ । महिला र खेलकुद विभागका केही काम अधूरा भएकाले अभियान पछाडि सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार जागरण अभियानमार्फत पछिल्लो राजनीतिक परिस्थिति, सरकारका गतिविधि, सुशासनका चुनौती र माओवादीप्रति जनताको धारणा बुझ्ने लक्ष्य राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *