काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले आज सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा पुगेका शिक्षकहरूले दुई घण्टा लामो धर्ना बसेका थिए। सुवेदी कांग्रेस निकट भए पनि, विधेयकले शिक्षकका माग उपेक्षा गरेको भन्दै पार्टीको कार्यालयमै विरोध कार्यक्रम गरिएको हो।
संसदीय समितिबाट पारित भई प्रतिनिधि सभामा पुगेको विधेयकमा शिक्षक र कर्मचारीका सरोकारका विषयहरू बेवास्ता गरिएको आरोप महासंघले लगाएको छ। “सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न शिक्षक, कर्मचारी र महासंघले राखेका माग सम्बोधनबाहेक विकल्प छैन,” अध्यक्ष सुवेदीले चेतावनी दिएका छन्।
महासंघले विधेयक सच्याउन भदौ २१ गतेसम्म अल्टिमेटम दिएको छ। सो अवधिभित्र प्रमुख दलका कार्यालयमा धर्ना, संघीय संसद् र शिक्षा समितिको घेराउ तथा स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ। आवश्यक परे काठमाडौं केन्द्रीत सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत महासंघले दिएको छ।
कार्यक्रमअनुसार आज कांग्रेस मुख्यालय पुगेका शिक्षकहरू भोलि एमाले र पर्सि माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिने तयारीमा छन्।
महासंघले अस्थायी शिक्षक स्थायीकरणमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतियोगिता हुनुपर्ने माग गर्दै आएको छ। तर, समितिबाट पारित विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतियोगिताको व्यवस्था गरिएको छ।
त्यस्तै विद्यालय कर्मचारीको पद र तलब संरचना सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा–सुविधा स्पष्ट नभएको, संस्थागत विद्यालयका शिक्षकलाई अव्यवहारिक सरुवा प्रणालीमा बाँधिएको लगायत कारणले महासंघ असन्तुष्ट रहँदै आएको छ।
भदौ ५ गते प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित उक्त विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समेत असहमति राखेका थिए।




