राजनीति

समानान्तर कमिटी विवाद : युवा संघका सह–संयोजक सञ्जीव राई छ महिनाका लागि निलम्बित

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवा संघ नेपालले सह–संयोजक सञ्जीव राईलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

संघको केन्द्रीय अनुशासन आयोगले गत साउन ३ गतेसम्म स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लिखित जवाफ नदिएर संगठनविपरीत गतिविधि निरन्तर चलाएको भन्दै कारबाही गरेको हो। आयोगका अनुसार राईले सामाजिक सञ्जालमार्फत संगठनविरोधी प्रचार–प्रसार गर्नुका साथै समानान्तर समिति गठन गरी आन्तरिक जीवनमा नकारात्मक असर पुर्‍याएका थिए। यसलाई संघको एकता र अनुशासनमा ‘गम्भीर आघात’ पुगेको टिप्पणी गरिएको छ।

संगठनका इन्चार्ज लक्ष्मण के।सी।को सिफारिसमा नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति बनेपछि राईले समानान्तर समिति घोषणा गरेको आरोप छ। विधान २०७८ को धारा १६ (घ) अनुसार आयोगले उनलाई साधारण सदस्यतासमेत नदिई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। आयोगका अध्यक्ष विकल के.सी.ले अनुशासन विपरीतका कार्यप्रति संगठन गम्भीर रहेकोू भन्दै भविष्यमा यस्ता गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।

यता संस्थापन पक्षले राईलाई समानान्तर कमिटी बनाउन पार्टी वरिष्ठ नेता झलनाथ खनालकै निर्देशन रहेको दाबी गर्दै आएका छन्। खनालले आफ्ना छोरा निर्भीक खनाललाई अघि बढाउने उद्देश्यले यस्तो कदम चालिएको आरोप छ। समानान्तर कमिटीमा अध्यक्ष घोषणा भएका राई हाल युवा संघमा सह–संयोजक छन् भने उपाध्यक्ष बनेका निर्भीक खनाललाई भने संघभित्र कुनै आधिकारिक जिम्मेवारी छैन।

त्यससँगै, राई र खनाल ठेक्का–पट्टाको व्यवसायमा साझेदार रहेको र उनीहरू संलग्न केही कम्पनी कालो सूचीमा रहेको दाबी पनि बाहिर आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *