काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्य गर्दै प्रश्न उठाएका छन्— “के तपाईंले पृथ्वी नै बोकेको हो र ?”
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै रिजालले केही नेताहरूले आफू बिना देश नै अस्तव्यस्त हुने जस्तो देखाउने प्रवृत्तिको तीव्र आलोचना गरे। उनले भने, “नेपालमा केही नेताहरू भन्छन्— म राजनीति छोडेँ भने देश गर्ल्यामगुर्लुम हुन्छ। आखिर के बोकेको छ र? पृथ्वी नै बोकेको हो कि?”
उनको यो टिप्पणी केही दिनअघि प्रचण्डले गरेको भनाइप्रति प्रतिवाद थियो। प्रचण्डले आफू पदबाट हटेमा देश ‘गर्ल्यामगुर्लुम’ हुने संकेत गरेका थिए। रिजालले यस्तो मानसिकतालाई पुस्तान्तरण रोक्ने प्रवृत्ति भन्दै प्रहार गरे। उनले थपे, “राजनीतिमा पुस्तान्तरण भन्ने कुरा हुँदैन। जसले सक्छ, उसैले नेतृत्व गर्छ। पुस्तान्तरण त राजतन्त्रमा मात्रै हुन्छ।”
उनले नेपाली कांग्रेसकै सन्दर्भमा पनि भित्री कमजोरी स्वीकार्दै भने, “धुलो, तुवाँलो लागेको छ, त्यो पुछ्नुपर्छ।”
रिजालको प्रश्नले प्रचण्डको “देश बिना म चल्दैन” भन्ने शैलीमाथि व्यंग्य मात्र होइन, नेतृत्वमा अड्किएको मानसिकतालाई पनि निशाना बनाएको देखिन्छ।




