राजनीति

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी तीव्र

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी तीव्र बन्दै गएको छ। पार्टीको १५औँ महाधिवेशन नजिकिँदै जाँदा देउवा समूहभित्रै “सात भाइ” भनेर चिनिने नेताहरू सक्रिय हुँदै सभापतिको उम्मेदवारका लागि प्रतिस्पर्धा गर्न थालेका छन्।

देउवापछि नेतृत्व लिन सक्ने दाबेदारमा डा. शशांक कोइराला र कृष्ण सिटौलालाई विशेष प्राथमिकतामा राखिएको देखिन्छ। तर पछिल्लो पटक डा. कोइरालाले बढी स्टण्ड गरेकोप्रति सभापति देउवा साह्रै खुशी छैनन् । देउवाले विगतमा शशांकलाई सभापतिको नेतृत्व दिने आश्वासन दिएको दाबी उनका निकट नेताहरूको छ। त्यस्तै, पछिल्लो समय देउवाका रणनीतिक निर्णयमा सल्लाहकारको भूमिकामा रहेका सिटौलाले पनि आफू उचित समय आएपछि उम्मेदवारी घोषणा गर्ने बताउँदै आएका छन् ।

यसैबीच, देउवा समूहका अन्य नेताहरू—प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठ—पनि सभापतिको आकांक्षीका रूपमा उभिएका छन्। तर, साझा उम्मेदवार चयन गर्ने विषयमा उनीहरूबीच सहमति हुन बाँकी छ।

पार्टीको पारिवारिक विरासत बोकेका नेताहरूले पनि आफ्नो भूमिकालाई जोड दिइरहेका छन्। प्रकाशमान सिंह गणेशमान सिंहको “लिगेसी”लाई अघि सारिरहेका छन् भने विमलेन्द्र निधिलाई देउवाप्रति लामो समयदेखि निष्ठावान रहँदै आएका नेता भनेर समूहभित्र विशेष स्थान दिइएको छ।

यसबीच, पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई भने “स्वाभाविक दाबेदार”का रुपमा हेरिहएको स्रोतको दाबी छ ।

देउवाको उत्तराधिकारी छनोटमा अर्का निर्णायक शक्ति उनकी पत्नी आरजु राणा देउवा हुने अनुमान गरिएको छ। पार्टी विधान संशोधन गरेर महिला उपसभापति थपिने सम्भावना देखिँदै गर्दा आरजुलाई सभापतिको टीमभित्र उपसभापति वा महामन्त्रीको उम्मेदवार बनाउने तयारी भइरहेको स्रोतको दाबी छ।

१५औँ महाधिवेशन अझै अनिश्चित भए पनि, नेतृत्व दौडमा कांग्रेसभित्र चहलपहल बढ्दै गएको छ। अन्ततः, देउवाले कसलाई समर्थन गर्ने भन्ने प्रश्नले नै पार्टीको भविष्यको समीकरण निर्धारण गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *