काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै गृहमन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद तथा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले उत्तर दिनेछन्।
बैठकमा कृषि समिति सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदन’ पेश गर्नेछन्। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक’ प्रस्तुत गर्नेछन्। त्यस्तै, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ र खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
राष्ट्रिय सभाको बैठक भने दिउँसो १२ः१५ बजे बस्नेछ। बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।
संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सन्देशसहित प्राप्त प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।




