काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर आइपुगेपछि राजनीतिक भेटघाटमा व्यस्त भइन्। उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन आएको औपचारिक कार्यक्रमसँगै उनी प्रदेश सरकारका प्रमुख पदाधिकारीदेखि पुराना सहकर्मीहरूसम्म भेट्ने क्रममा देखिइन्।
विमानस्थलमा एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी, राज्यमन्त्री सिर्जना राईलगायत नेताले स्वागत गरे पनि यसपटक शेरधन राई वा मुख्यमन्त्री हिक्मतकुमार कार्की जस्ता ठूला अनुहार विमानस्थलमा देखिएनन्। तर, बेलुकासम्म मुख्यमन्त्री कार्की, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की होटलमै पुगेर भण्डारीलाई भेट्न पुगे।
भेटघाटका क्रममा भण्डारीले प्रदेश सरकारमा राजनीतिक दलहरूको सहभागिता र सरकारको कामकारबाहीबारे जिज्ञासा राखेकी थिइन्। भेटमा सरकारको अवस्था र गतिविधिबारे छलफल भएको मन्त्रीहरूले बताएका छन्।
भण्डारीलाई भेट्न नेकपा एसका नेताहरू पनि पछि परेनन्। एमाले मोरङका पूर्वअध्यक्ष रहिसकेका महेश रेग्मी पत्नी सावित्रासहित पुग्दा भण्डारीसँग पुराना संगठनात्मक सम्झनादेखि हालको राजनीतिक अवस्थासम्म छलफल भएको बताइएको छ। रेग्मीका अनुसार भण्डारीले प्रतिकूल अवस्थाकै कारण सक्रिय राजनीतिमा फर्कनु परेको स्पष्ट पारेकी थिइन्।
यता एमाले संस्थापनले भने भण्डारीलाई निषेध गर्ने नीति लिइरहेको छ। पार्टीले नेताहरूलाई उनका कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि भेट्न पुगेका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिलाई अर्थपूर्णरूपमा हेरिएको छ। तर, भेटघाटका तस्वीरहरू सार्वजनिक गर्न भने कसैले साहस गरेका छैनन्।
काठमाडौं फर्कनुअघि भण्डारीले पाञ्चालीस्थित एमाले मोरङ कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन्। आफू अझै सामान्य सदस्यकै रूपमा एमालेसँगै रहेको भन्दै उनले राष्ट्रियता र आर्थिक आत्मनिर्भरतालाई सर्वोच्च एजेन्डा बनाउँदै अघि बढ्न आग्रह गरिन्।




