राजनीति

उपसभामुखविरुद्ध प्रस्ताव दर्ता गर्ने निर्णय भइसकेको छैनः एमाले प्रमुख सचेतक बर्तौला

काठमाडौंं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णयमा सत्ता गठबन्धन पुगेको छैन भनेर प्रष्ट पारेका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उपसभामुखको कार्यशैलीबारे प्रश्न उठेका भए पनि तत्काल प्रस्ताव दर्ता गर्ने योजना नभएको स्पष्ट पारे । “अहिले उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निर्णय भएको छैन। गठबन्धनका तर्फबाट त्यस्तो मनसायमा पुगेका छैनौँ,” बर्तौलाले बताए ।

हालै संसदमा उठेको ‘भिजिट भिसा’ प्रकरणसँगै उपसभामुखको भूमिकाबारे विभिन्न दलले प्रश्न उठाउँदै आएका छन् । अमेरिकी दूतावासमा केही व्यक्तिको अन्तर्वार्ता प्रक्रियालाई सहजीकरण गर्ने पत्राचारको विषय संसदमा उठेपछि यसले बहस र आलोचना निम्त्याएको हो ।

बर्तौलाले यो विवादलाई सरकारसँग भन्दा पनि संसदसँग सम्बन्धित विषयका रूपमा लिएर समाधान खोजिनुपर्ने बताए । “उहाँमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन। पद अनुकूल आचरण भए नभएकोबारे संसदभित्र बहस हुनु स्वाभाविक हो,” उनले जोड दिए ।

उनका अनुसार, संसदभित्र निरन्तर विवाद रहनु राम्रो नभएकाले समयमै टुङ्गोमा पुर्‍याउन जरुरी छ । तर तत्कालै प्रस्ताव दर्ता गर्ने कदम चाल्ने कुनै तयारी नभएको उनले दोहोर्‍याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *