राजनीति

बिपिन जोशीको रिहाइका लागि सरकार निरन्तर सक्रिय छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताएकी छन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको पहलमा तथा इजरायल सरकारको सहयोगमा हाल बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा छन् । भ्रमणका क्रममा उनीहरूले इजरायलका राष्ट्रपतिसँग भेट गरी बिपिनको रिहाइका लागि अपिलसमेत गरेका छन् ।

मन्त्री राणाले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएयता बिपिनको मुद्दालाई प्राथमिकतामा राखी संयुक्त राष्ट्रसंघीय महासभादेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा निरन्तर आवाज उठाउँदै आएको बताइन् । उहाँले जि–७७ प्लस, जि–२०, एलडिसी लगायतका समूहका बैठकमा समेत बिपिनको तत्काल रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको जानकारी दिइन् ।

यस क्रममा कतार, इजरायल, इजिप्टलगायतका उच्च अधिकारीहरुसँग प्रत्यक्ष तथा फोनमार्फत संवाद गरी पहल गरिएको परराष्ट्रमन्त्री राणाले बताइन् । मध्यपूर्वी मुलुकमा रहेका नेपाली दूतावासमार्फत निरन्तर संवाद चलाइएको र त्यसका लागि दूतावासहरुलाई सक्रिय भूमिका खेल्न निर्देशन दिइएको उनको भनाइ छ ।

मन्त्री राणाले बिपिनको सुरक्षित रिहाइका लागि अमेरिकासहित अन्य मुलुकका नेतासँग समेत सहयोगको आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाल सरकारले यो मुद्दालाई उच्च प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहेको र पीडित परिवारसँग सरकार पूर्ण रूपमा साथमा रहेको स्पष्ट पारिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *