देश

उद्योगीबाट बक्यौता तुरुन्त असुल्न नेपाल विद्युत प्राधिकरणलाई ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणलाई उद्योगीहरूले उपयोग गरेको विद्युत महशुल तत्काल असुल्न निर्देशन दिएका छन्।

प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइन विषयमा प्राधिकरण लामो समयदेखि अल्झिएको भन्दै अब ढिलाइ नगरी छिटो नतिजा देखाउनुपर्नेमा जोड दिए।

उनले प्राधिकरणलाई बक्यौता उठाउने मात्र नभई विद्युत उत्पादनसँगै सुरक्षित आपूर्ति गर्ने क्षमताको विकास गर्न पनि आह्वान गरे। “ऊर्जा क्षेत्र नै समृद्धिको ढोका हो। यसलाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य छ,” मन्त्री खड्काले भने।

सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले सो लक्ष्य पूरा गर्न प्राधिकरणको भूमिका निर्णायक हुने बताए।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पत्ति ६।२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए। आर्थिक वर्ष २०८१र८२ मा प्राधिकरणले कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको र सो अवधिमा ४३४ मेगावाट विद्युत प्रणालीमा थपिएको उनले बताए।

शाक्यका अनुसार, गत आर्थिक वर्षमा ग्राहकहरूलाई ५९५ घण्टा विद्युत अवरोध (ट्रिप) भएकोमा यस वर्ष उक्त समस्या घट्ने क्रममा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *