देश

सरकार ढल्दैन, रास्वपा टिक्दैन : उपप्रधानमन्त्री पौडेल

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक यात्रा खहरेको बाढी जस्तै क्षणिक हुने टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाको राजनीति लामो समय टिक्ने देखिन्न भन्दै, ‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ, रास्वपा पनि अब हराउँदै जान्छ,’ भने ।

पौडेलले विरोधमै रमाएर राजनीति नगर्न र राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिन सुझाव दिए । उनले एमाले र कांग्रेसलाई देश र जनताको हितमा काम गर्ने पार्टी भन्दै अहिलेको सरकार सहमति अनुसार अघि बढिरहेको बताए ।

‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ पौडेलले स्पष्ट पारे, ‘अहिलेको सरकार ढल्नेवाला छैन ।’

उनले अस्थिरताको राजनीति गर्ने दिन सकिएको भन्दै माओवादी केन्द्रबाट मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास रोकिएको दाबी गरे । दृष्टिकोण, एजेण्डा र गन्तव्यबिना रहेका पार्टीहरूले मात्रै अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *