राजनीति

‘गेम चेन्जर’ योजना ल्याउन मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई नयाँ र युगान्तकारी कामको योजना बनाउन निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदान–प्रदान कार्यक्रममा उनले मुलुकको उत्पादकत्व वृद्धि र गरिबीको दुष्चक्र तोड्न तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले मङ्सिरभित्र दैलेखको मिथेन ग्यास परीक्षण उत्पादन सुरु गर्न, चीनमा निर्यात हुने गरी किसानलाई व्यावसायिक भैंसी पालनमा प्रवर्द्धन गर्न, जैविक खेती अभियान सञ्चालन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए। साथै, ज्येष्ठ नागरिक संवाद भवन निर्माण, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्ने, कीर्तिपुर क्रिकेट रंगशाला र भक्तपुरको ठूलो रंगशाला छिटो निर्माण गर्ने निर्देशनसमेत दिए।

उनले नेपालको आफ्नै अर्बिट अन्तरिक्षमा प्रयोग गर्ने, राष्ट्रिय रेल सेवा र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउने, सुनकोसी–मरिन, भेरी–बबई र काठमाडौँ–तराई द्रुतमार्गजस्ता आयोजनाहरूलाई छिटो पूरा गर्ने, योग तथा आरोग्य अभियान विस्तार गर्ने र कर्मचारी सरुवा मापदण्डअनुसार गर्ने कार्यलाई पनि प्राथमिकतामा राख्न आग्रह गरे।

“यी केही प्रतिनिधिमूलक सुझाव मात्र हुन्,” ओलीले भने, “भदौको अन्त्यतिर पुनः बैठक बसेर हरेक मन्त्रालयको मौलिक र परिवर्तनकारी काम तय गरौं, जसले साँच्चै देशमा नयाँ अध्याय खोलोस्।”

कार्यक्रममा चालु आर्थिक वर्षका लक्ष्य र उपलब्धिबारे प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको थियो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न यो अभ्यास ओलीको अघिल्लो कार्यकालमै सुरु गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *