हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति घाटा–नाफाको व्यापार नभई सेवा र धर्म भएको बताएका छन्। उनले जनतालाई न्याय, शान्ति र विकासको प्रत्यक्ष अनुभूति हुने गरी उत्तरदायी, जिम्मेवार र पारदर्शी शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले आज हेटौँडामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री बानियाँले भने, “सत्य, न्याय र इन्साफ गरिब, विपन्न र निमुखाको पक्षमा उभिएर काम गर्छु। जनताको सेवामा समर्पित भएर जवाफदेही शासन गर्छु।”
मुख्यमन्त्री बानियाँले गरिब र विपन्न समुदायको पीडा नजिकबाट बुझेको उल्लेख गर्दै आफ्नो कार्यकालमा मुख्यमन्त्रीबाट प्राप्त हुने तलबभत्ताबाट आफ्नै निर्वाचन क्षेत्रका गरिब परिवारका लागि घर निर्माण गरिने घोषणा पनि गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री बानियाँसँगै बिनाविभागीय मन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए।




