काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाको मेलमिलापको नीतिमा आधारित रहेको बताएका छन्।
बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले बिपीले अपनाएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। उनले बलियो कांग्रेस र राष्ट्रिय शक्तिबीचको सहकार्यबाट मात्रै देश स्वाधीन र समृद्ध बन्न सक्ने बिपीको सोच अहिले पनि मार्गदर्शक रहेको बताए।
उनका अनुसार बिपी कोइराला राजनीतिक मात्र नभई साहित्यिक क्षेत्रका पनि प्रेरणादायी व्यक्तित्व थिए। स्वतन्त्र चिन्तन र प्रगतिशील दृष्टिकोणका माध्यमबाट उनले नेपाली वाङ्मयमा महत्वपूर्ण योगदान दिएको देउवाले स्मरण गरे।
सभापति देउवाले बिपी कोइरालाको विचार कांग्रेस मात्र नभई आधुनिक नेपालको निर्माणका लागि पनि मार्गदर्शक भएको उल्लेख गरे। उनले बिपी आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्थालाई मुलुकको आवश्यकता मान्ने दृढ नेता भएको बताए।
भारत निर्वासनमा रहेका बेला पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दै गर्दा राष्ट्रियताको पक्षमा दृढ अडान राख्दै बिपी आठवटा ज्यान मुद्दा लागिरहेको अवस्थामा नेपाल फर्किएको स्मरण पनि देउवाले गरे। बिपीको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै कांग्रेसलाई आजको अवस्थामा ल्याएको उनको भनाइ थियो।




