राजनीति

एमालेको विधान संशोधन प्रक्रिया तीव्र : केन्द्रीय कमिटीमा मस्यौदा छलफलमा

काठमाडौं । नेकपा (एमाले) को विधान संशोधन प्रक्रिया आजबाट औपचारिकरूपमा अगाडि बढ्दैछ। पार्टीको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ। बैठकमा आगामी भदौ २०–२२ गते गोदावरी, ललितपुरमा तय गरिएको विधान महाधिवेशनका लागि तयार गरिएको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिनेछ।

विधान मस्यौदा समितिका संयोजक तथा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट स्वीकृत मस्यौदा केन्द्रीय कमिटीमा पेश गर्नेछन्। बैठकमा सहभागी केन्द्रीय सदस्यलाई तीन मिनेटसम्म धारणा राख्न समय प्रदान गरिनेछ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले आफ्नो मत पहिले नै राखिसकेकाले आजको बैठकमा उनीहरू सहभागी भए पनि धारणा राख्ने छैनन्।

पार्टीमा केन्द्रीय तहका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक करिब २३० जना सदस्य छन्। आज सुरु हुने बैठक भोलिसम्म सकिने अपेक्षा गरिएको भए पनि सबैले धारणा राखेमा बैठक पर्सिसम्म लम्बिन सक्ने अनुमान गरिएको छ। यसअघि साउन १ देखि ३ गतेसम्म बसेका उच्च तहका बैठकहरूबाट उमेर सीमा (७० वर्ष) र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय भइसकेको छ। सोही निर्णयलाई समेटेर तयार गरिएको मस्यौदा आज प्रस्तुत हुँदैछ।

केन्द्रीय कमिटीले मस्यौदा अनुमोदन गरेपछि सो दस्तावेज सुझाव संकलनका लागि मातहतका सबै कमिटीमा पठाइनेछ। अन्ततः संकलित सुझावहरूसहित संशोधित मस्यौदा विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *