काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष पदबाट हटाएका मुकुन्दश्याम गिरी आज (आइतबार) निर्वाचन आयोग पुगेका छन्। पार्टीको निर्णय विधानविपरीत भएको भन्दै गिरीले आयोगमा उजुरी दर्ता गराएका हुन्।
गिरीसँगै प्रवक्ताबाट हटाइएका सगुन लावती पनि आयोग पुगेका छन्। अध्यक्ष लिङ्देनले गिरीलाई गत शुक्रबार उपाध्यक्ष पदबाट हटाएका थिए। यसअघि अनुशासन आयोगको सिफारिसमा पदमुक्त गरिएका नवराज सुवेदी पनि गत साता आयोग गएका थिए।
पछिल्लो समय राप्रपाभित्रको विवाद चुलिँदै गएको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको पक्षले अध्यक्ष लिङ्देनमाथि पार्टीमा ‘एकलौटी’ अभ्यास गरेको आरोप लगाउँदै आएको छ।
निर्वाचन आयोगमा उजुरी दर्ताको क्रममा गिरीलाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेतृ कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरूको समर्थन रहेको देखिएको छ।




