देश

राजनीतिमा सक्रियता बढाउँदै भण्डारी, ओलीसँग भेट तय

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल जाँदैछिन्। उनको सचिवालयका अनुसार भण्डारी दिउँसो ३ बजे च्यासल पुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनी च्यासल जान लागेकी हुन्।

हालै सम्पन्न दुईदिने पोलिटब्युरो बैठकमा भण्डारीको सम्भावित राजनीतिक सक्रियता र पार्टीमा उनको भूमिकाबारे उत्पन्न विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच प्रत्यक्ष छलफल आवश्यक रहेको सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।

ती सुझावलाई ध्यानमा राख्दै अध्यक्ष ओलीले बैठकमै भण्डारीसँग भेट गर्ने बताएका थिए। आगामी साउन ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै यो विषय टुंग्याउनुपर्ने म्यान्डेटअनुसार ओलीले भण्डारीसँग छलफल सुरु गरेका हुन्।

आजको भेटपछि भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणसम्बन्धी विषय तय हुने जनाइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *