राजनीति

एकीकृत समाजवादीसँगको एकता कार्यक्रममा बामदेव गौतमले भने : सय वर्षसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय रहनेछु

एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ। राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो। एकतापछि माधव नेपाल र वामदेव गौतमले अंगालो हालेका थिए। त्यस्तै झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरेका थिए। पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफू १०० वर्षको उमेरसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिय रहने दृढ अठोट व्यक्त गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एकीकृत समाजवादीसँगको एकता कार्यक्रममा बोल्दै गौतमले आफू अझै २३ वर्षसम्म आन्दोलनलाई अघि बढाउने संकल्प दोहोर्याए। विभाजनपछि पुनः पार्टीमा फर्किन पाउँदा उनी भावुक हुँदै भने, “चार वर्षपछि फर्किन पाउँदा अत्यन्त खुशी छु।”

“म थर्ड डिभिजनले एसएलसी पास गरेको साधारण मान्छे हुँ। अहिले ७७ वर्षको भएँ, तर अझै २३ वर्ष आन्दोलनमा लागिरहने सोच छ,” उनले भने।

गौतमले दुई मुख्य संकल्पको चर्चा पनि गरे — पहिलो, राजतन्त्रको अन्त्य र दोस्रो, कम्युनिस्ट पार्टीको एकता। उनले २०७५ सालमा पार्टी एकता सफल भएको क्षणलाई सम्झिँदै, “त्यो बेला म अत्यन्त खुसी थिएँ,” भने।

अबको लक्ष्य समाजवादमा देशलाई लैजानु भए पनि त्यो सपना आफ्नै जीवनमा पुरा हुनेमा उनले केही शंका प्रकट गरे। तर आफ्नो जीवनको बाँकी समय कम्युनिस्ट विचारलाई समर्पित गर्ने अठोट व्यक्त गर्दै, “फहराएको झण्डा कहिल्यै झुक्न दिन्न,” भनेर सम्बोधन टुंग्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *