देश

शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघको सरकारलाई २० दिने चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले अबको २० दिनभित्र विद्यालय शिक्षा ऐन जारी नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले साउन २१ भित्र विधेयक संसद्मा पेस गरी पारित गर्न सरकारलाई अल्टिमेटम दिएको हो।

महासंघले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विधेयकलाई तत्काल टुंग्याएर विगतका सहमति समेटिएको नयाँ शिक्षा ऐन अघि बढाउनुपर्ने माग गरेको छ। विगतका समझौता अनुसार शिक्षकको स्थायीत्व, बढुवा, विभागीय कारबाही, ट्रेड युनियन अधिकार, शिक्षक सरुवा र विद्यालय कर्मचारी व्यवस्थापनलगायतका मागहरू अझै समाधान नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

महासंघले भनेको छ, २१ साउनसम्म ऐन पारित नभएमा विगतभन्दा कडा आन्दोलन हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी राज्यपक्षले लिनुपर्नेछ। २०७५ देखि २०८१ सालसम्म भएका सम्झौताहरू कार्यान्वयन नहुँदा असन्तुष्ट बनेका शिक्षकहरूले अन्तिम पटक २० चैतमा सुरु गरिएको आन्दोलन २९ दिनसम्म जारी राखेका थिए। त्यसपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भए पनि त्यो अझै कार्यान्वयनमा आएको छैन।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *