काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः प्रवेशबारे अहिले कुनै निश्चित निर्णय नभएको बताएका छन्। उनले यो विषय पार्टीले नै निर्णय गर्ने स्पष्ट पारेका छन्।
‘दिशानिर्देश’ कार्यक्रमका पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भण्डारीसँग न त व्यक्तिगत रूपमा सल्लाह भएको बताए, न त पार्टीमा औपचारिक छलफल नै भएको उल्लेख गरे। “उहाँले पार्टी फर्कनेबारे मसँग कुनै सल्लाह गर्नुभएन,” ओलीले भने, “न मौखिक न लिखित रूपमा पार्टीसँग केही संवाद भएको छ।”
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेकी छिन्। यसले उनी पार्टी राजनीतिमा सक्रिय हुने संकेतको रूपमा लिइएको छ। तर, प्रधानमन्त्री ओलीले यो निर्णयको औपचारिकता अझै बाँकी रहेको भन्दै स्पष्ट गरे, “पार्टीले निर्णय गर्छ कि उहाँ पार्टीमा फर्किन मिल्छ कि मिल्दैन।”
भण्डारीको सम्भावित पुनः प्रवेशले पार्टीमा नेतृत्व हस्तान्तरणको बहस चुलिएको छ। कतिपयले यो क्रम ओलीको सट्टामा भण्डारीलाई नेतृत्व सुम्पिने रणनीतिका रूपमा व्याख्या गरेका छन्। तर ओलीले यस्तो अडकललाई खारेज गर्दै हाँस्दै प्रतिक्रिया दिए, “अहिले उनलाई नेतृत्व सुम्पिने अवस्था छैन। पार्टीले उहाँ फर्किन्छन् भनेर मानेको छैन। उहाँ लामो समय राजनीतिबाट बाहिर रहनुभएको छ।”
ओलीले पार्टी यो विषयमा ढिलो नगरी निर्णय लिने बताए। “उहाँले आउँछु भनेर सार्वजनिक रूपमा बोलेको थाहा पाएका छौं,” उनले भने, “के भन्नुभएको हो, हामी उहाँसँग सोध्नेछौं र चाँडै निर्णय गर्छौं।”




