काठमाडौं । नेकपा एमालेको नेतृत्व तहमा फेरबदलको तयारी तीव्र बन्दै गएको छ। पार्टीले अब वरिष्ठ उपाध्यक्ष पद नै हटाउने तयारी गरेको छ, जसको सिधा असर वर्तमान पदाधिकारी ईश्वर पोखरेलमाथि पर्नसक्ने देखिन्छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सुरु भएको सचिवालय बैठकले आगामी भदौ २०–२२ गते गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गरिरहेको छ। सोही बैठकबाट विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने सम्भावना उच्च छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षको कार्यकाल सीमा र ७० वर्षे उमेरहद सम्बन्धी विषयमा पनि बहस चलिरहेको छ। पार्टीलाई संस्थागत रूपान्तरणतर्फ लैजाने भनिएको यो प्रक्रिया पोखरेलका लागि भने पद गुमाउने घण्टी हुनसक्छ।
विशेषगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको नजिकको सम्बन्ध र हालै उनले भण्डारीको पक्षमा खुलेर बोलेको विषयले पोखरेलमाथि ओली असन्तुष्ट देखिएको चर्चा चलिरहेको छ। ओली नेतृत्वको समूह पोखरेलको भूमिकालाई ुसंवेदनशील र गुटीयु ठान्दै आएको छ।
यदि संशोधित विधान पारित भयो भने, महाधिवेशनपछि पोखरेल वरिष्ठ उपाध्यक्षको पदबाट बाहिरिनेछन्। पार्टीभित्रको शक्ति सन्तुलन र विश्वासको समीकरण फेरबदल हुँदै जाँदा, उनको राजनीतिक भविष्य पनि अन्योलमा परेको देखिन्छ।




