काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले पार्टीको विधान महाधिवेशनमा आफू सहभागी हुने नहुने निर्णय एमाले केन्द्रीय कमिटीको निर्णयमा भर पर्ने बताएकी छन्।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले केन्द्रीय कमिटीले प्रतिनिधि वा आमन्त्रित सदस्यका रूपमा बोलाए अनुसार आफ्नो सहभागिता तय हुने स्पष्ट पारिन्।
‘मेरो उपस्थिति कसरी हुन्छ भन्ने कुरा केन्द्रीय कमिटीको निर्णयमा भर पर्छ,’ भण्डारीले भनिन्, ‘उहाँहरूले मलाई प्रतिनिधिको रूपमा बोलाउनुहुन्छ वा आमन्त्रित सदस्यको रूपमा — त्यो केन्द्रीय निर्णयअनुसार हुनेछ।’
भण्डारीले पार्टीमा पुनः सक्रिय भएर देशसेवा गर्ने अठोट व्यक्त गर्दै आफू कुन भूमिकामा रहने भन्ने कुरा पनि पार्टीको निर्णयअनुसार हुने जनाइन्।
‘देशभित्र पार्टीले जुन तहमा जनताबीच काम गरिरहेको छ, त्यसको प्रतिनिधित्वलाई अझ बलियो बनाउने विषयमा केन्द्रिय कमिटीले छलफल गरी धारणा बनाउनेछ,’ उनले भनिन्।




