राजनीति

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : कीर्तिपुरको मैदानमा प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुहोस्

काठमाडौं । संसदमा गरिएको आलोचनाको प्रतिवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कीर्तिपुरको मैदानमै गएर कामको प्रगति हेर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारदेखि विकास कार्यमा लापरवाहीसम्मको आरोप लगाउँदै कडा कटाक्ष गरेपछि, प्रधानमन्त्री ओलीले त्यसको जवाफ संसदमै दिए।

“पूर्वप्रधानमन्त्री दाहालजीले सोध्नुभयो– कीर्तिपुरमा फ्लडलाइट खोईरु प्यारापिट खोईरु” प्रधानमन्त्री ओलीले भने, “उहाँलाई आग्रह गर्छु, कृपया त्यहाँ जानुहोस्। प्यारापिट बनिरहेको छ, फ्लडलाइटका पोल जडान भइरहेका छन्। काम भैरहेकै हो।”

“तपाईंले कहिल्यै समय तोक्नु भएन, म समय दिएर काम गरें” ओलीले पूर्वप्रधानमन्त्रीको कार्यकालमा कुनै काम ठोस रूपमा समयबद्ध ढंगले अघि नबढेको आरोप लगाउँदै भने, “तपाईं प्रधानमन्त्री हुँदा न कुनै वाचा थियो, न कुनै निर्णय, न संकल्प। सरकारको कामबारे तथ्यांक जनतालाई कहिल्यै बताउनु भएन।”

“मैले त भनेको दिनमा गर्छु भनेर समय तोकें, अनि आफैँमाथि नै जिम्मेवारी लिएँ,” प्रधानमन्त्रीले थपे, “आज अर्थतन्त्र कुन अवस्थामा छ भनेर हेर्न चाहनुहुन्छ भने तथ्याङ्क हेर्नुस्। तपाईंले जर्जर छोडेको अर्थतन्त्र पुनःघनचक्करबाट बाहिर निकालिएको छ।”

प्रचण्डले ओलीमाथि व्यंग्य गर्दै ‘अब चित्रगुप्तलाई के बयान दिने?’ भनेर उठाएको प्रश्नको सन्दर्भमा प्रधानमन्त्रीले प्रत्यक्ष प्रतिक्रिया त नदिए पनि कार्य, समयसीमा र परिणामले नै उत्तर दिनुपर्ने बताए। उनको भनाइ अनुसार, ‘नारा होइन, नतिजा देखाउने’ शैलीमा सरकार अघि बढिरहेको छ। उनले समृद्धि र शुद्ध प्रशासनतर्फ सरकारको प्रतिबद्धता अझ बलियो भएको दाबी गरे।

संसदमा प्रचण्डको प्रश्न र त्यसको जवाफमा प्रधानमन्त्री ओलीको टिप्पणीले सत्ता–विपक्षबीचको बहस थप चर्किएको छ। एकातर्फ प्रचण्डले सरकारलाई भ्रष्टाचार र असंवेदनशीलताको आरोप लगाएका छन् भने अर्कोतर्फ प्रधानमन्त्रीले पूर्व सरकारको निष्क्रियता र अमूर्त भाषणको आलोचना गर्दै हालको सरकारलाई काम गरेर देखाउने नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्। संसदमा यस्ता प्रत्यक्ष बहसहरूले जनताबीच पनि राजनीतिक चेतना र जवाफदेहिता माग्ने वातावरण बनाएको विश्लेषकहरू बताउँछन्।

प्रधानमन्त्री ओलीले सामाजिक संजाल फेसबुकमा प्रचण्डलाई दिएको जवाफ :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *