काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताको लागि समर्पित तथा इमानदार नेता फेला पार्न दिनप्रतिदिन कठिन भइरहेको गुनासो गरेका छन्। बागलुङका स्वर्गीय नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै देउवाले कँडेलजस्ता निष्ठावान नेताको अभाव कांग्रेसमा गहिरिँदो चुनौती बनेको बताए।
उहाँ (कँडेल) लाभको पदमा कहिल्यै लोभ नदेखाउने, सदैव जनताको पक्षमा उभिने नेता हुनुहुन्थ्यो। आज त्यस्ता अनुकरणीय नेता पाउन कठिन छ,देउवाले भने। उनले कँडेललाई बिपी कोइरालाको विचारमा अडिग, इमान्दार र समर्पित नेताको रूपमा स्मरण गरे। देउवाले कँडेलको निधन कांग्रेसको लागि ठूलो क्षति भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई उहाँको बाटो पछ्याउन आग्रह गरे। कँडेलको निधन असार १५ गते भएको थियो।




