देश

विवादित फैसला जांचमा : आलम प्रकरणमा सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । अफताब आलमजस्ता गम्भीर अभियुक्तलाई सफाइ दिने फैसलापछि चौतर्फी आलोचना झेलिरहेका उच्च अदालतका न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि अब औपचारिक छानबिन हुने भएको छ। न्यायपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको नेतृत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको छ।

न्यायपरिषद् ऐनको दफा १८ अनुसार, जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्न परिषद् सदस्य वा सर्वोच्च अदालतका न्यायाधीशमार्फत समिति गठन गर्न सकिने व्यवस्था छ। सोही आधारमा न्यायाधीश शर्माको संयोजकत्वमा छानबिन प्रक्रिया सुरु गरिएको हो।

अब गठन गरिएको समितिले न्यायाधीश थारु र महर्जनसँगै अन्य सम्बन्धित व्यक्तिहरूलाई सोधपुछ गर्न सक्नेछ। उजुरीहरूको विवरण अध्ययन गरेर समितिले तोकिएको समयभित्र रायसहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनु पर्नेछ।

यो निर्णय अफताब आलम प्रकरणसँग जोडिएको विवादित फैसला पछि आएको हो, जसले न्यायपालिकाको निष्पक्षता र सार्वजनिक विश्वासमाथि गम्भीर प्रश्न उठाएको थियो। छानबिन समितिको गठनले न्यायपालिकाभित्र जवाफदेहिता र आन्तरिक अनुशासनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *