काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा नियुक्त गरिएका ५२ जना पदाधिकारीसम्बन्धी रिटमाथि आज (बुधबार) निर्णय सुनाउने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले बुधबारका लागि निर्णय सुनाउने (निसु) समय तोकेको हो।
रिट निवेदकहरूलाई दिउँसो ४ बजेका लागि सर्वोच्च अदालतमा बोलाइएको छ।
२०७७ साल माघ २१ गते, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, लोकसेवा आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।
प्रतिनिधिसभा विघटनको अवस्थामा संसदीय सुनुवाइ नगरी गरिएका ती नियुक्तिहरू असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरिएको थियो।
राष्ट्रपति कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, समृत खरेल, कीर्तिनाथ शर्मा पौडेललगायतले रिट दायर गरेका थिए।
चार वर्षपछि ती रिटमा सुनुवाइ सकिएर आज अन्तिम निर्णय हुन लागेको हो।




