भक्तपुर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउने व्यक्तिहरूको योगदान देशभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको १३औँ स्मृतिसभा, नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण समारोहमा बोल्दै सभापति देउवाले सहिद जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि दिएको योगदान अमूल्य रहेको बताए।
“जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो,” देउवाले भने, “उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो।” उनले जोन्छे तथा यस्ता अन्य व्यक्तित्वको जीवनी संकलन गरी पुस्तक प्रकाशनमार्फत राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले संसद् सञ्चालनबारे निर्णय माओवादी केन्द्रको हातमा रहेको बताउँदै संसद् अवरुद्ध गर्ने यो समय उपयुक्त नभएको धारणा राखे। उनले भने, “अहिले संसद् अवरुद्ध छ, भिजिट भिसा प्रकरणमा छानबिन हुँदैछ।”
सो अवसरमा सहिद जोन्छेको स्मृतिमा निर्मित प्रतिष्ठान भवन निर्माणमा सहयोग गर्ने सूर्यविनायक नगरपालिका, नगरप्रमुख वासुदेव थापासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम समेत प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, भक्तपुर जिल्ला सभापति एवं सांसद दुर्लभ थापाले सहिद जोन्छेको योगदान पार्टीले कहिल्यै भुल्न नहुने उल्लेख गरे।
प्रतिष्ठानका अध्यक्ष तथा जोन्छेकी श्रीमती रजनी जोन्छे र उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा कुल रु १ करोड १० लाख खर्च भएको जानकारी दिए। उनीहरूका अनुसार सूर्यविनायक नगरपालिकाबाट पटक–पटक गरी रु ४० लाख र विभिन्न मन्त्रालय तथा दाताहरूबाट थप सहयोग प्राप्त भएको थियो।




