काठमाडौं । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्मा फेरि पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सतिसकुमार सिंहले बिहीबार दुईजना मन्त्री हटाउँदै दुई नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा समेटेका हुन्।
मुख्यमन्त्री सिंहले भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटनमन्त्री सकिल अलीलाई हटाएर सोको जिम्मेवारी वसन्त कुशवाहा र सन्जय यादवलाई दिएका छन् । सरकार पुर्नगठनसगैँ भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी वसन्त कुशवाहले पाएका छन् भने उद्योग, वन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सन्जय यादव यादवले पाएका छन्। दुवै मन्त्रीलाई बिहीबार नै सपथ ग्रहण गराइएको जनमत पार्टीका केन्द्रीय सचिव बिपी साहले जानकारी दिए।
यस फेरबदललाई पार्टीगत सन्तुलन मिलाउने रणनीतिको रूपमा पनि हेरिएको छ। यद्यपि मुख्यमन्त्री कार्यालयबाट औपचारिक कारण उल्लेख नगरिए पनि राजनीतिक स्थिरता कायम राख्न यो कदम चालिएको अनुमान छ। मधेस प्रदेश सरकार गठनपछिका केही महिनामै पटक–पटक मन्त्री फेरबदल भइरहेका छन्। यसले नीति र योजना निरन्तरतामाथि प्रश्न खडा गरेको छ। नयाँ मन्त्रीहरूबाट जनअपेक्षा अब ‘काम गरेर देखाउने’ हो।




