देश

कांग्रेसको महाधिवेशन मङ्सिर भित्र हुँदैन, एमालेसँगको सहकार्य बाध्यतामूलक: प्रवक्ता महत

तनहुँ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताए। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताए।

विधान अनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय एक वर्ष थपिने उनको भनाइ थियो। महतले भने, “विगतका अधिवेशनमा समय सरेको थियो, यसपटक पनि तयारी नपुगेकोले सार्नुपर्ने अवस्था छ।”

समानुपातिक राजनीतिक पद्धतिले गर्दा कुनै पनि पार्टीको बहुमत नआउने अवस्थामा अन्य पार्टीसँग सहमति गर्नुपर्ने बाध्यतात्मक कारणले एमालेसँग सहमति गरिएको डा. महतको भनाइ थियो। पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको महतले बताए।

कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतको धारणा थियो। कांग्रेस र एमालेबीचमा सिद्धान्त नमिले पनि सिद्धान्तभन्दा माथि कूटनीति हुने भएकोले सहकार्य गरिएको बताए। जनताको चाहना पूरा गर्न सत्तामा जानुपर्ने भएकोले एमालेसँग सहकार्य गरिनु उपयुक्त भएको उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, उपसभापतिद्वय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्वय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल, नेपाल महिला सङ्घ तनहुँको अध्यक्ष पवित्रा पौडेललगायतका वक्ताले गुटउपगुटमा नलागी व्यक्तिगत स्वार्थ छोडेर पार्टी सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *