राजनीति

प्रधानमन्त्रीको प्रश्न : सिंहदरबारमा बालेन शाह सधैँ किन अनुपस्थित ?

उच्चस्तरीय बैठकहरूमा प्रमुख जनप्रतिनिधिहरूको उपस्थिति सुनिश्चित गर्न निर्देशन,
प्रधानमन्त्रीले भने – सरकारले बोलाएका बैठकमा कहिल्यै पनि उपस्थित नहुनेको नाम नराख्नुहोस्,होइन् भने निम्तो गरेपछि सहभागीता जनाउन सक्नुपर्छ ।सरकारको निम्तोलाई अस्वीकारेर सामाजिक संचालनमा खेल खेल्नेलाई धेरै सम्मान गर्न सकिदैँन् ।

काठमाडौं। सिंहदरबारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अनुपस्थितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चकित बनायो। प्रधानमन्त्री ओलीले बालेन शाहको खोजी गर्दै यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिहरूको उपस्थिति अनिवार्य हुनुपर्ने बताए।

उपस्थितिको सट्टा उपमेयर डंगोलको प्रतिनिधित्व

बैठकमा काठमाडौँ महानगरपालिकाबाट मेयर शाहको ठाउँमा उपमेयर सुनिता डंगोल सहभागी थिइन्। मेयर शाहको अनुपस्थिति प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा यस्ता उच्चस्तरीय बैठकहरूमा प्रमुख जनप्रतिनिधिहरूको उपस्थिति सुनिश्चित गर्न निर्देशन दिएका छन्।

ूमहत्त्वपूर्ण निर्णयहरू हुने बैठकमा जनप्रतिनिधिको उपस्थिति अनिवार्य हुन्छ। तर, यहाँ प्रमुख प्रतिनिधि नै छैनन्, यो उचित होइन। आगामी बैठकमा यस्ता कुरा दोहोरिनु हुँदैन, प्रधानमन्त्री ओलीले भने।

बैठकमा गणतन्त्र दिवस भव्य रूपमा मनाउनका लागि विभिन्न कार्यक्रमहरू तय गरियो। यसपटक गणतन्त्र दिवसलाई विशेष महत्वका साथ तीनदिने कार्यक्रममार्फत मनाउने निर्णय गरिएको छ। जेठ १४, १५, र १६ गते दीप प्रज्वलन सहित सरकारी निकायहरूमा उत्सवको माहोल बनाइनेछ।

सैनिक मञ्च टुँडिखेलमा मुख्य समारोह आयोजना गरिनेछ भने, केन्द्र, प्रदेश र स्थानीय तहका सरकारका साथै निजी क्षेत्र, संघ(संस्था र विदेशस्थित नेपाली राजदूतावासहरूमा समेत गणतन्त्र दिवस मनाइने छ।

गणतन्त्र दिवस मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी जनस्तरमा समेत उत्सवको रूपमा मनाउन सबैलाई आह्वान गरे।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले बालेनलाई लक्ष्यित  अभिव्यक्ति यस्तो छः

कहिले पनि नआउने, नाम राखिरहनु पर्ने, मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे सधैँ राख्ने गर्छौं हामीले हरेक फङसनमा । कहिल्यै देखा पर्दैनन्, केही गर्दैनन्… त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई… (आफैँ हाँस्छन्) । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने…. कुनै व्यक्तिलाई कुनै अर्थ छैन, वास्तै छैन महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ? तपाईंहरु पनि सोध्नुस् आउने हो कि होइन, रुचि छ कि छैन ?

प्रधानमन्त्रीले यति भनेपछि मुख्य सचिव एकनारायण अर्यालले थोरै जवाफ दिए ।

उनले भने, ‘मैले देख्या कुरा, सम्माननीयज्यूले चेयर गर्ने फर्मल मिटिङमा आउनुपर्ने बोलाएका मान्छेको कर्तव्य र जिम्मेवारीभित्र पर्छ । सोध्न पनि गाह्रो । जिल्लाबाहिर रहँदा त एउटा कुरा हो । नत्र फर्मल मिटिङमा आउनुर्प भन्ने मान्यता राख्छौं । अर्को मिटिङमा सम्माननीय ज्यू बस्दाबस्दै उठेर जाने प्रवित्ति पनि नराम्रो हो । कुनै पनि मिटिङको डेकोरम भित्र पर्दैन । मैले आज यो कुरा पनि निवेदन गरेँ । अस्ति मैले फिल गरेको विषय हो यो ।’

हाइलेभल कमिटीमा सहभागीताका लागि आमन्त्रण गर्दा लगातार तीनपटक आएन भने त…. (रोकिएर) पदै जान्छ । त्यस्तो ठाएँमा चार पल्ट, पाँच पल्ट, जतिपल्ट पनि… जसलाई न चाडपर्व न केही… कुनै वास्ता नभएको… त्यस्तोमा सधैँ बोलाउनुपर्ने… हामीलाई त्यो बाध्यता हुने, आउनुपर्ने मान्छेलाई बोलाइराख्नुपर्ने… यस्तो हुँदैन ।

अर्कोपल्टसम्म सोधिखोजी गर्नुहोला । हेर्नुहोला रेकर्डमा को-को एकपल्ट पनि आउँदैन । रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउन नसक्ने भए नाम नराख्नू । हरेकपल्ट इतिहास बनिरहने, नाम छापिइरहने हरेक ठाउँमा, हामीले पवित्र नाम गरिरहनुपर्ने, मान्छे नआउने…।

सबै उपस्थित साथीहरुलाई धन्यवाद । जो परिस्थितिवस आउन सक्नुभएन, मन भएर पनि, उहाँहरुलाई पनि धन्यवाद । उधुमसँग मनाउनुपर्छ । जनस्तरबाटै मनाउनुपर्छ । सरकारी कार्यक्रममा मात्रै भर पर्नु हुन्न ।

बैठकले जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *