
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई एउटा पनि गलत काम गर्ने छुट नभएको बताएका छन्।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ स्याङ्जाको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा भएकाहरूको कार्यशैली बदल्नुपर्ने बताए।
उनले भने, “हामी अहिले सरकारमा छौँ। २०८४ सम्म सरकारमै रहन्छौँ, तर निर्णय गर्दा आमजनताले निर्णय ठीक गर्यो भन्न सक्ने खालको गर्नुपर्छ। हामीले गरेका निर्णय र हाम्रा कारणले भएका निर्णय भोलिका दिनमा हामी जवाफदेही हुनैपर्छ। २०८४ सालमा सरकारको कुनै निर्णयको भारीले हामी थिचिनुपर्ने अवस्था नआओस्। कुनै निर्णयले लखेट्ने अवस्था नआओस्, हाम्रो अनुहार सफा देखियोस्। अनुहारमा दाग लागेको बेलामा ऐना पुछेर हुँदैन, अनुहारको दाग नै सफा गर्नुपर्छ।”
महामन्त्री थापाले पार्टीमा कोही ठूलो र कोही सानो नभएको बताए।