देश

सरकार परिवर्तनको हल्ला निराधार, ढुक्क भएर काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला राजनीतिक दलहरूको सहकार्यमा बनेको वर्तमान सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले सबैलाई ढुक्क भएर विकास निर्माण र सुशासनका काममा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

चितवनको इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन कायम गर्न इतिहास बोकेका ठूला दलहरू एकसाथ मिलेर सरकार बनाएको बताए। सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भने, “देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्ण रूपमा लागेका छौँ। तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुहोस्। सबै मिलेर देश बनाऔँ।” उनले नयाँ प्रशासकीय भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा लगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *