देश

समृद्ध नेपालका लागि सकारात्मक सोच र साझा प्रयास आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, आत्मबल र साझा प्रयास आवश्यक भएको बताएका छन्।

नयाँ वर्ष २०८२ को शुभकामनासहित दिएको सन्देशमा प्रधानमन्त्री ओलीले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीको जीवनमा शान्ति, समृद्धि, सफलता र नयाँ उत्साहको कामना गर्दै, चुनौतीहरूको बीचमा प्राप्त उपलब्धिहरूलाई आधार मानेर उज्यालो भविष्यतर्फ अघि बढ्न सकिने विश्वास व्यक्त गरे।

उनले भने, “देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हाम्रो साझा लक्ष्य हो। यो लक्ष्य प्राप्त गर्न सरकारको मात्र प्रयास पर्याप्त हुँदैन, सबै नेपालीको संयुक्त प्रयास जरुरी छ।”

प्रधानमन्त्री ओलीले नेपालका जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई राष्ट्रको शक्ति भएको उल्लेख गर्दै, यिनलाई विरोधको रूपमा होइन, एकताको स्रोतको रूपमा विकास गर्नुपर्ने बताए।

उनले ग्रामीण क्षेत्रमा बनेका पूर्वाधार, सामाजिक सेवा प्रणालीमा भएका सुधार, र लोकतान्त्रिक व्यवस्थाबाट आएको परिवर्तनहरूलाई देशको प्रगतिको संकेतका रूपमा हेर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले युवालाई राष्ट्रको सम्भावना भन्दै उनीहरूको सिर्जनशीलता र जोशलाई प्रविधि, उद्यमशीलता, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउन सरकारले नीति लिएको बताएका छन्।

“निराशा फैलाउने प्रवृत्तिलाई परास्त गर्दै, हामी सबैले राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वास राख्दै अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *