देश

ओलीको ‘गुहार’, मन्त्रालयको ‘निमन्त्रणा’: शिक्षक आन्दोलनको ‘टर्निंग प्वाइन्ट’ बन्ला भोलिको वार्ता?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई पुनः वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी गरेको विज्ञप्तिमा भोलि चैत २७ गते वार्तामा उपस्थित हुन नेपाल शिक्षक महासंघलाई आमन्त्रण गरिएको उल्लेख छ। यसअघि पनि मन्त्रालयले चैत २१ र २२ गते छलफलका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई बोलाएको थियो।

विज्ञप्तिमा भोलिको वार्ता र संवादमा राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायत सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुन आग्रह गरिएको छ। वार्ताको समय तालिका आपसी सल्लाहमा तय गरिने मन्त्रालयले जनाएको छ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० प्रतिनिधिसभामा पेस भएकोमा त्यसलाई यथाशीघ्र पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत माघ २० गतेदेखि सुरु भएको आन्दोलन एक सातादेखि काठमाडौँमा जारी छ।

यद्यपि, महासंघले विधेयक पारित गरेर शिक्षा ऐन जारी गर्नु नै आफ्नो एक सूत्रीय माग भएकोले वार्तामा बस्नुको औचित्य नभएको स्पष्ट पारेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकार र महासंघबीच भएका सहमतिअनुसार शिक्षा ऐन जारी हुनुपर्ने बताएका छन्। उनले वार्तामा समय खर्चनुभन्दा ऐन निर्माणमै सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *