राजनीति

रोल्पा, सल्यान र प्युठानमा देखिएको कांग्रेस महामन्त्री थापाको क्रेज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पछिल्लो एक साता पश्चिम क्षेत्रमा पार्टीको संगठन विस्तारमा निकै सक्रिय रहे । भारतको प्रयागराजबाट फर्केलगत्तै उनी सल्यान पुगे । त्यसपछि रोल्पा र प्युठान पुगेका गगनले कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकको अपार माया र न्यानो स्वागत पाए ।

रोल्पालाई माओवादीको आधार इलाका र गढ नै मानिन्छ । तर गगनले सम्बोधन गर्ने सभामा स्थानीयको सहभागिता खचाखच देखिन्थ्यो । उनले सामाजिक सञ्जालमा लेखे– न्यानो स्वागत र मायाका लागि रोल्पाली जनतालाई धन्यवाद । १५ वर्षपछि रोल्पामा गगनले भाषण गरेका हुन् । रोल्पा मात्र होइन, सल्यान र प्युठानमा समेत गगनको क्रेज धेरै देखिन्थ्यो । गगनलाई स्वागत गर्न स्थानीयको ठूलो भीड लागेको थियो । रोल्पा र प्यूठानवासीको विश्वास र साथले आफूलाई अझ बढी जिम्मेवारीको महसुस गराएको उनले बताए।

कांग्रेसको १५औं महाधिवेशनको चर्चा चलिरहेका बेला गगनको पश्चिम नेपालको दौडलाई अर्थपूर्ण मानिएको छ । हुन त कांग्रेसका अन्य नेताहरू पनि कर्णाली, सुदूरपश्चिम, मधेश प्रदेशमा पुगेका छन् । तर गगन जहाँ जहाँ पुगेका छन्, त्यहाँ उनलाई स्वागत गर्नेको भीड नै लागेको छ ।

आफू पुगेका ठाउँमा उनले वर्तमान समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयलाई नेपालको हितमा हुने गरी केन्द्रबिन्दुमा राखेर बहस गरिरहेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि राजावादीको अभिव्यक्तिका विषयमा सान्दर्भिक अभिव्यक्ति दिने गरेका छन् ।

महामन्त्री थापाले विभिन्न कार्यक्रममा देशलाई समृद्धिको दिशामा अघि बढाउन सबैले आ–आफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । लिवाङमा सम्पन्न कांग्रेस जिल्ला कार्यसमिति रोल्पाको दोस्रो जिल्ला सम्मेलनमा उनले जनताको उत्साह र अपार मायाप्रति आभार व्यक्त गर्दै रोल्पाको समुन्नतिमा सबैसँगै अघि बढ्ने प्रतिबद्धता जनाए।

उनले रोल्पाको लिबाङमा रहेको बहुप्राविधिक शिक्षालय र जलजला बहुमुखी क्याम्पसमा शिक्षक तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरे । त्यस क्रममा उनले रोल्पाको परिवर्तन र प्रगतिको चाहनालाई महसुस गरेको बताए। लिबाङमै सनस्टार युवा क्लबद्वारा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा थापाले उत्साही खेलाडीहरूको जोश र स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखे। उनले यस्ता प्रतियोगिताले खेलकुद प्रवर्द्धन गर्दै युवालाई प्रेरित गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई पनि टेवा पुर्‍याउने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *